दफा २३
घर बिदा

(१) प्रधान न्यायाधीश वा न्यायाधीशले काम गरेको अवधिको एघार दिनको एक दिनको दरले पूरा पारिश्रमिक सहितको घर बिदा पाउनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “काम गरेको अवधि” भन्नाले भैपरी आउने बिदा र पर्व बिदामा बसेको दिन र सार्वजनिक बिदाको दिनलाई समेत जनाउनेछ ।

(२) उपदफा (१) बमोजिमको घर बिदा बढीमा एक सय पचास दिनसम्म सञ्चित गरी राख्न सकिनेछ ।

(३) एक सय बीस दिनभन्दा बढी घर बिदा सञ्चित हुने प्रधान न्यायाधीश वा न्यायाधीशले सो बढी घर बिदामध्ये प्रत्येक वर्षको चैत्र मसान्तसम्म सञ्चित रहेको घर बिदामध्ये बढीमा तीस दिनसम्मको घर बिदा बापत निजले खाईपाई आएको पारिश्रमिकको दरले हुन आउने रकम सोही आर्थिक वर्षको अन्त्य सम्ममा एकमुष्ट लिन सक्नेछ ।

(४) जुनसुकै व्यहोराले न्यायाधीश सेवाबाट अलग भएमा पनि निजको उपदफा (२) बमोजिम सञ्चित रहेको घर बिदामध्ये बढीमा एक सय बीस दिनको घर बिदा बापत निजले खाईपाई आएको पारिश्रमिकको दरले हुन आउने रकम एकमुष्ट लिन पाउनेछ ।

(५) प्रधान न्यायाधीश वा न्यायाधीशले घर बिदामा घर जाँदा र घर बिदा भुक्तान गरी घरबाट सर्वोच्च अदालतमा हाजिर हुन आउँदा वर्षको एक पटक पैदलको बाटोलाई आठ कोषको निमित्त एक दिनको दरले तथा मोटर, रेल, हवाईजहाजको बाटोलाई जति दिन लाग्ने हो त्यति दिन बाटो म्याद पाउनेछ ।

(६) उपदफा (२) बमोजिम सञ्चित घर बिदा वा सो बापतको रकम लिन नपाउँदै प्रधान न्यायाधीश वा न्यायाधीशको मृत्यु भएमा त्यस्तो रकम दफा १६ को उपदफा (१) बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ ।

(७) यस दफा बमोजिम प्रधान न्यायाधीश वा न्यायाधीशले लिएको घर बिदाको अवधिमा कुनै सार्वजनिक बिदा पर्न आएमा त्यस्तो सार्वजनिक बिदा घर बिदामा जोडिने छैन ।